काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज अन्त्य गर्न लागिएको हो। सो अवधिदेखि विधिपूर्वक स्वस्थानी व्रत गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रत समापन गर्नेछन्।
त्यसै दिनदेखि स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजैदेखि टुंगिँदैछ।
विधिपूर्वक एक महिनासम्म व्रत बसेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य अर्पण गर्ने विधान छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ भाग पति भए पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई दिने गरिन्छ। यी कोही नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रतविधि रहेको छ।
सय रोटी चढाइसकेपछि बर्तालुले फलाहार गरी रातभर जाग्राम बस्ने चलन छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसरी विधिपूर्वक व्रत गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफ्नै स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त मानिने भएकाले ‘स्वस्थान’ अर्थात् आफ्नै आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय उत्तम मानिन्छ।



















