काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुग्नुभएको छ। जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतबार राति जापान प्रस्थान गर्नुभएको थियो।
राष्ट्रपतिलाई नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभएको थियो।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जापान जानुभएको हो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता हुनेछ।
त्यसैगरी, उहाँले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया तथा जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान समारोहमा पनि सहभागी हुनुहुने कार्यक्रम छ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए।
राष्ट्रपति पौडेल चारदिने भ्रमण सम्पन्न गरी यही माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।



















