बिहिबार, बैशाख १७, २०८३
इन्जिनियरिङ संरचनाबाट बनेको प्राकृतिक आकर्षण : बुढीखोला झरना

काठमाडौँ । इटहरी उपमहानगरपालिका–१२ खनारस्थित बुढीखोला झरना पछिल्लो समय सामाजिक सञ्जालमार्फत एकाएक चर्चामा आएको छ। पहिले स्थानीयबाहेक कमैलाई जानकारी रहेको यो स्थान अहिले सामाजिक सञ्जालकै कारण देशभर चिनिन थालेको हो।

कोशी राजमार्गको खनार खण्डबाट करिब दुई किलोमिटर पूर्वतर्फ रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत निर्माण गरिएको प्रोटेक्सन फ्लोरबाट बग्ने पानी तल खस्दा बनेको मनमोहक दृश्य नै आज “बुढीखोला झरना”का रूपमा परिचित भएको छ। इन्जिनियरिङ संरचना र प्राकृतिक प्रवाहको संयोजनले सिर्जिएको यो दृश्य आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको एक्वाडक्ट संरचनाबाट बग्ने पानीले झरनाजस्तै दृश्य बनाएपछि यहाँ दैनिक हजारौँको संख्यामा पर्यटक पुग्ने गरेका छन्। विशेषगरी युवायुवती पानीमा रमाउने, चिप्लेटी खेल्ने तथा फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा साझा गर्ने क्रम बढेसँगै यसको लोकप्रियता झनै बढेको छ। गर्मी याम सुरु भएसँगै पर्यटकको चाप अझै बढ्ने अनुमान गरिएको छ।

यद्यपि बढ्दो आकर्षणसँगै केही चुनौती पनि देखिएका छन्। झरनामा बग्ने पानी पूर्ण रूपमा शुद्ध नभएकाले स्वास्थ्य जोखिम हुन सक्ने सम्भावना रहेको छ भने चिप्लो सतहका कारण लडेर घाइते हुने जोखिम पनि उत्तिकै रहेको स्थानीयले बताएका छन्। साथै, फोहोर व्यवस्थापन र अनियन्त्रित भीडले वातावरणीय असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

स्थानीयको अनुसार समयमै स्थानीय तह, सिँचाइ आयोजना, सरोकारवाला निकाय र समुदायबीच सहकार्य हुन सकेमा बुढीखोला झरनालाई इटहरीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ। त्यसका लागि पानीको गुणस्तर परीक्षण तथा शुद्धीकरण, सुरक्षात्मक रेलिङ, सूचना बोर्ड, निगरानी व्यवस्था, फोहोर व्यवस्थापन, प्रवेश मार्ग र पार्किङको उचित व्यवस्था आवश्यक देखिएको छ।

बुढीखोला झरना व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चौधरीले यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र स्वच्छ बनाउँदै दीगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समिति सक्रिय रूपमा लागेको जानकारी दिनुभयो। सही योजना, व्यवस्थापन र संरक्षणको पहल भएमा बुढीखोला झरना इटहरीको पहिचानसँगै पूर्वाञ्चलको नयाँ आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय