सोमबार, बैशाख ०७, २०८३
कृषि, जलस्रोत र पर्यटनमा लगानीका लागि नेपाल सुरक्षित गन्तव्य : राष्ट्रपति पौडेल

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी तथा व्यापारिक अवसरको खोजी गर्न आह्वान गर्नुभएको छ। उहाँले नेपाल सरकार विदेशी लगानीकर्तालाई आवश्यक सबै सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्न  प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न इच्छुक रहेको बताउनुभयो।

उहाँले लगानीमा आकर्षक प्रतिफल, नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रिया तथा स्थिर समष्टिगत आर्थिक वातावरण नेपालमा तयार भइसकेको उल्लेख गर्नुभयो। साथै, नेपाल–जापान सम्बन्धलाई पारस्परिक लाभका क्षेत्रमा थप मजबुत बनाउने यो उपयुक्त समय भएको पनि उहाँले बताउनुभयो।

राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्ध आदिकालदेखि नै जोडिएको उल्लेख गर्दै शान्ति, सद्भाव र सहकार्य नै दुवै मुलुकको साझा आधार भएको बताउनुभयो। कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाल र जापान दुवैले लाभ लिन सक्ने उहाँको धारणा थियो।

उहाँले नेपालमा राजनीतिक स्थिरतासँगै सामाजिक न्याय, सुशासन र समृद्धि हासिल गर्ने प्रयास तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। यस वर्षको अन्त्यसम्म नेपाल अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्यसमेत उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलका अनुसार नेपालले उदार आर्थिक नीति अवलम्बन गर्दै उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत प्रायः सबै क्षेत्र विदेशी लगानीका लागि खुला गरेको छ। व्यापार सहज बनाउन तथा लगानी आकर्षित गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू समेत गरिएको उहाँले बताउनुभयो।

नेपाल लगानी बोर्डमार्फत् ठूला लगानीकर्तालाई एकद्वार सेवा उपलब्ध गराइने तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई दक्षिण एसियामै अनुकूल व्यावसायिक वातावरण भएको देशका रूपमा मूल्याङ्कन गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। साथै, भारत र चीनजस्ता दुई उदयीमान अर्थतन्त्रको बीचमा रहेको नेपालको भौगोलिक अवस्थाले लगानीकर्तालाई थप लाभ दिने उहाँको विश्वास छ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने परराष्ट्र मन्त्रालयका सचिव अमृत राई र सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीको सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो। जापानी व्यापारिक समुदायका सदस्यहरूले नेपालमा रहेका प्रशस्त लगानी अवसरबारे जानकारी पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय