काभ्रे । लोकतन्त्रको सबैभन्दा खतरनाक क्षण तब सुरु हुन्छ, जब मताधिकार चेतनाको सट्टा बकाउमा बदलिन्छ। चुनाव आउँछ, नारा गुञ्जिन्छ, भीड उम्लिन्छ, र फेरि उही अनुहारहरू-उही झुटा वाचा, उही खोक्रा भाषण-सत्तामा पुग्छन्। दोष सधैं नेतामा मात्र थोपर्नु सजिलो हुन्छ, तर वास्तविक प्रश्न अझ गहिरो छ : के हामी आफैं राजनीतिक रूपमा सचेत छौँ?
राजनीतिक चेतना नभएका मतदाता स्वतन्त्र नागरिक होइनन्, उनीहरू प्रयोग हुने साधन हुन्। जसले प्रश्न गर्न जान्दैन, ऊ सजिलै बहकाइन्छ। जसले इतिहास पढ्दैन, ऊ बारम्बार ठगिन्छ। नारा, झण्डा र भावनात्मक भाषणमा बग्ने भीड लोकतन्त्रको शक्ति होइन; त्यो लोकतन्त्रको कमजोरी हो।
चेतनाविहीन मतको पहिलो परिणाम अयोग्य नेतृत्व हो। भिजन, नीति र दीर्घकालीन योजना नभएका पात्रहरू सत्तामा पुग्छन्, किनकि उनीहरू बोल्न जान्छन्, सोच्न होइन। उनीहरू भीडलाई खुसी पार्न जान्छन्, देश चलाउन होइन। यस्तो नेतृत्वबाट निर्णय होइन, संयोग जन्मिन्छ; नीति होइन, आवेग चल्छ। परिणामस्वरूप राज्य संस्था कमजोर बन्छन्, अर्थतन्त्र दिशाहीन हुन्छ, र समाज ध्रुवीकृत हुँदै जान्छ।
हामी प्रायः भन्छौँ-“नेता खराब भए।” तर प्रश्न गर्नुपर्छ-उनीहरूलाई खराब बनाउने कारखाना कहाँ छ? त्यो कारखाना हाम्रो सामूहिक उदासीनता हो। जब मतदाता उम्मेदवारको विचारधारा, विगत, नीति र क्षमताबारे सोध्दैन, तब चुनाव एउटा संस्कार मात्र बन्छ। मत हालिन्छ, तर जिम्मेवारी लिइँदैन। जित्नेले शासन गर्छ, हार्नेले दोष थोपर्छ, र जनता फेरि रमिते बन्छन्।
इतिहास साक्षी छ-अन्धसमर्थनले देशलाई सधैं दुर्घटनातर्फ डोर्याएको छ। चाहे अधिनायकवाद होस् वा भ्रष्ट लोकतन्त्र, जड एउटै हुन्छ : प्रश्नविहीन समर्थन। जब भीडले नेता छान्छ, दूरदर्शि नेतृत्व होइन, तब संविधान कागजमा सीमित हुन्छ। अधिकारको नाममा दुरुपयोग बढ्छ, र आलोचना देशद्रोह ठहरिन्छ।
समाधान सजिलो छैन, तर स्पष्ट छ। राजनीतिक चेतना कुनै पाठ्यपुस्तकको अध्याय मात्र होइन; यो अभ्यास हो-प्रश्न गर्ने, बहस गर्ने, तथ्य जाँच्ने अभ्यास। मत दिनु अघि सोध्ने साहस-“तिमीले के गर्नेछौ?” “कसरी गर्नेछौ?” “कसको हितमा गर्नेछौ?” “देश बदल्ने मार्गचित्र के कस्तो छ?” “स्वाधीन राजनीति दृष्टि के हो?” यही साहस लोकतन्त्रको वास्तविक शक्ति हो।
चेतनाविहीन मतले क्षणिक जीत देखिए पनि दीर्घकालीन हार सुनिश्चित गर्छ। देशलाई दुर्घटनाबाट जोगाउने हो भने, नेतृत्व बदल्नुभन्दा पहिले सोच बदल्नुपर्छ। किनकि लोकतन्त्र मतपेटिकामा मात्र होइन, नागरिकको चेतनामा बाच्न सक्नुपर्छ।























