काठमाडौँ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय हाल सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उक्त व्यक्तिलाई स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा सोमबार राति करिब ११ बजे प्रहरीले गोली चलाउनुपरेको जनाएको छ। प्रहरीमाथि आक्रमण गर्ने प्रयास भएपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो।
एसएसपी थापाका अनुसार पक्राउ परेका व्यक्तिबाट हालसम्म ६५ तोला सुनचाँदीका गरगहना बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।























