काठमाडौ । हरेक वर्ष, अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आएको छ।
तर पछिल्लो तथ्याङ्कअनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रजाति र सङ्ख्या घट्दो देखिएको छ। सन् २०२५ को जलपक्षी गणनामा नेपालमा ९४ प्रजातिका ९६,५६५ जलपक्षी अभिलेखित भएका थिए। सन् २०२६ को गणनामा ८९ प्रजातिका ९०,६८८ जलपक्षी अभिलेख भएका छन्। त्यसअघि भएका गणनामा एक लाखभन्दा बढी जलपक्षी अभिलेखमा आएका थिए।
वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्वीपमा एसियास्तरीय जलपक्षी गणना सन् १९८७ देखि हुँदै आएको छ। नेपालले पनि त्यसयता निरन्तर जलपक्षी गणनामा सहभागिता जनाउँदै आएको छ।
अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया र साइबेरियालगायतका क्षेत्रबाट जलपक्षी यस याममा नेपाल आउने गर्छन्। चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्छन्। फर्किँदा पाकिस्तान र अफगानिस्तानको बाटो प्रयोग गर्छन्।
जलपक्षी गणनाको मुख्य उद्देश्य बसाइँसराइ गर्ने र पानीमा बस्ने चराको प्रजनन् नहुने समयमा गणना तथा अनुगमन गरी सिमसार क्षेत्रको अवस्था बुझ्नु, पानीमा बस्ने चराको महत्व र संरक्षणमा आम नागरिकलाई जानकारी गराउनु रहेको छ।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पक्षीविद् सङ्घको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र ७८ वटा साना क्षेत्रमा जलपक्षी गणना गरिएको नेपाल पक्षीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए। गणनामा ४११ स्वयंसेवक—कर्मचारी, चराविद्, प्रकृतिप्रेमी र नागरिक वैज्ञानिक—ले पानीमा आश्रित र पानी वरिपरि बस्ने चराको तथ्याङ्क संकलन गरेका छन्। तथ्याङ्क विश्व सिमसार दिवस (२ फेब्रुअरी) मा सार्वजनिक गरिएको थियो।
कार्यकारी निर्देशक पौडेलका अनुसार, नेपालमा जलपक्षीको सङ्ख्या कम हुनको कारण मानवीय गतिविधि बढ्नु, पूर्वाधार निर्माण, मिचाहा प्रजातिले ताल ढाक्नु, कृषिमा रसायनिक मल र विषादीको अत्यधिक प्रयोग हुनु लगायत छन्।
यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, धनुषाधामका तालतलैया, कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजर्भायरलगायत क्षेत्रमा जलपक्षी गणना गरिएको छ।
सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि, प्रदूषण, फोहरमैला र कृषि रसायन प्रयोगले जलपक्षीको आहारमा कमी आएको छ। आहाराको खोजीमा जलपक्षीले अन्यत्र बासस्थान खोज्ने गरेको पाइन्छ। साथै, नदीजन्य उत्खनन्, तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचना निर्माण र पर्यावरण प्रतिकूल गतिविधिहरूले जलपक्षीको बासस्थान घटाउने चुनौती थपेका छन्।
नेपालमा हिउँदमा बसाइँसराइ गर्ने पानी चरामा हाँस, जलेवा, गङ्गा चील जस्ता प्रजाति पर्दछन्। यी चराहरू भदौ मध्यदेखि पुस मध्यसम्म नेपाल आउने गर्छन् र प्रजननका लागि चैतसम्म आफ्ना स्थायी बसोबासस्थलमा फर्किन्छन्।























