काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेले बनेपा नगरपालिका वडा नं. ७ मा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा कार्यरत ४० जना भन्दा बढी शिक्षक तथा शिक्षिकालाई लक्षित गरी सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न गरेको छ।
कार्यक्रममार्फत सडक प्रयोग गर्दा अपनाउनुपर्ने आधारभूत नियम, सवारी चलाउँदा देखिने सामान्य लापरवाहीका कारण हुने दुर्घटना, पैदलयात्री तथा सवारी चालकको दायित्वका विषयमा जानकारी प्रदान गरिएको थियो।
प्रशिक्षणमा सुरक्षित सडक अनुशासन, ट्राफिक संकेतको पालना, विद्यार्थीहरूलाई विद्यालय तहबाटै ट्राफिक सचेतना कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने पक्षमा पनि जोड दिइएको थियो। ट्राफिक प्रहरीले यस्ता कार्यक्रमले शिक्षकमार्फत समुदाय र विद्यार्थी तहसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ। विद्यालय प्रशासनले पनि कार्यक्रम उपयोगी र व्यवहारिक रहेको भन्दै आगामी दिनमा निरन्तर सहकार्यको अपेक्षा गरिएको जनाएको छ।























