काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा निर्वाचन पर्यवेक्षणको अवधारणा, प्रक्रिया तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराइएको थियो।
अभिमुखीकरण कार्यक्रममा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले निर्वाचन पर्यवेक्षणः अवधारणा र नेपालको अभ्यास विषयमा प्रस्तुति दिनुभयो। यस्तै, निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को व्यवस्थापन अन्तर्गत मतदानस्थल, मतदान केन्द्र, मतगणनालगायतका कार्यतालिका र कार्यक्रमबारे जानकारी गराउनुभयो।
कानुन तथा दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता, २०८२ सम्बन्धी प्रस्तुति दिनुभयो भने सहसचिव ज्ञानहरि घिमिरेले प्रतिनिधिसभासम्बन्धी संवैधानिक व्यवस्था र निर्वाचन प्रणाली बारे स्पष्ट पार्नुभयो। कार्यक्रममा निर्वाचन पर्यवेक्षणमा संलग्न ३७ वटा राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउतले पर्यवेक्षकहरूले संविधान, निर्वाचन कानुन र प्रक्रियाबारे राम्रोसँग बुझेको हुनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले मतदानअघि, मतदानका दिन र मतदानपछिको मतगणनासम्मका सम्पूर्ण गतिविधि पर्यवेक्षण गरी आयोगलाई प्रतिवेदन बुझाउनुपर्ने उल्लेख गर्नुभयो।
अभिमुखीकरणमा निर्वाचन पर्यवेक्षकले निर्वाचन आचारसंहिता, २०८२ को पालना गर्नुपर्ने, सवारी पासको दुरुपयोग गर्न नहुने, कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा लाग्न नहुने तथा मतदानस्थलमा अनावश्यक हस्तक्षेप गरी कर्मचारीको काममा बाधा पुर्याउन नहुने विषयमा पनि स्पष्ट निर्देशन दिइएको थियो।
आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ वटा राष्ट्रिय संस्था र तीनवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाले पर्यवेक्षण अनुमति लिएका छन्।























