काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको छ।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ। सोही समयमा इजिप्टको कायरो विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार सुक्खा मौसम, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका गतिविधिका कारण वायु प्रदूषण बढेको हो।























