काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सामग्रीको व्यवस्थापनको खाका तयार गरेको छ। आयोगले नौ प्रकारका सामग्री केन्द्रबाटै पठाउने र ३७ प्रकारका सामग्री जिल्लास्तरमै व्यवस्थापन गर्ने निर्णय गरेको हो।
केन्द्रबाट पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि आवश्यक सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिका स्टीकर रहेका छन्।
त्यसैगरी जिल्लामा व्यवस्थापन गरिने सामग्रीमा सिलिङ बक्स, पोल बुकका लागि डायरी, पुसपिन, मार्कर पेन, स्टाप्लर मेसिन, ग्लुस्टिक, काउन्टिङ डम्पर, परिचयपत्र होल्डर, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली, प्याकिङ टेप तथा विभिन्न कागज र खामहरू रहेका छन्।























