काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ। ती जिल्लामा हिमालीदेखि तराईसम्मका डोल्पा, मुगु, कैलाली, झापा, मोरङ, रुपन्देहीलगायतका जिल्ला समावेश छन्।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छापिने लक्ष्य रहेको छ।
हालसम्म १३ हजारभन्दा बढी बाकस मतपत्र प्याकिङ गरी ढुवानीको तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।























