झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातासँग आग्रह गरेका छन्।
शनिबार झापा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्ति–४ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आफू बदलिएर देश बदल्ने संकल्पसहित अघि बढेको नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गर्नुपर्ने बताए। आवेग वा लहैलहैमा परेर मतदान नगर्न आग्रह गर्दै उनले बदलिएको नेपाली कांग्रेसप्रति ढुक्क भएर मतदान गर्न विशेषगरी जेनजी युवाहरूलाई आह्वान गरे।
उनले देश अहिले विषम परिस्थितिमा रहेको उल्लेख गर्दै चुनावमा हार–जित स्वाभाविक भए पनि यस्तो अवस्थामा देशलाई सही नेतृत्व गरेर निकास दिन सक्ने क्षमतायुक्त दललाई जनताले पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरे।



















