सोमबार, बैशाख ०७, २०८३
निर्वाचन प्रचार बिथोले दुई लाख जरिवाना वा तीन वर्ष कैद : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा अवरोध गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिएको छ।

सङ्घीय कानुनअनुसार कुनै राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पुर्‍याए दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल तथा उम्मेदवारहरूको प्रचार गतिविधिलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको छ। केही स्थानमा अन्य दल, कार्यकर्ता वा व्यक्तिबाट प्रचारकार्य बिथोलिएको गुनासो र उजुरी प्राप्त भएको उल्लेख गर्दै आयोगले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार कुनै दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध गर्न नहुने स्पष्ट व्यवस्था छ। निर्वाचन (कसुर तथा सजाय) ऐनले पनि प्रचारप्रसार वा मतदानको अधिकार प्रयोग गर्नबाट कसैलाई वञ्चित गर्न नपाइने प्रावधान गरेको छ।

आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व सबै राजनीतिक दल, उम्मेदवार, नागरिक तथा सरोकारवालाको भएको आयोगले उल्लेख गर्दै कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय