बिहिबार, बैशाख १७, २०८३
भीरकोट नगरपालिकामा जिल्लामै पहिलो परीक्षणका रूपमा तर्बुजा खेती सुरु

काठमाडौँ ।  भीरकोट नगरपालिका ले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा तर्बुजा खेती सुरु गरेको छ।

हेफर इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालित भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक उत्पादनमा जाने लक्ष्य राखिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। यहाँको हावापानी र माटो तर्बुजा खेतीका लागि उपयुक्त देखिएकाले पहिलो चरणमा बीउ, बेर्ना, आवश्यक उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए।

उनका अनुसार सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजा खेती सुरु गरिएको हो। प्रारम्भिक चरणमा किसानहरूले परीक्षणका रूपमा खेती थालेका छन् भने सफल भएमा ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिइनेछ। किसानले आफैं उत्पादन बिक्री गर्न नसकेमा नगरपालिकाले बजार व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ।

भीरकोट नगरपालिका–१ स्थित आँधीखोला किनारको खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान र वडा नं ६ को एकुवार फाँट गरी करिब २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजा खेती गरिएको हो। यसपटक १८ जना किसान यसमा सहभागी भएका छन्।

परियोजनाका कृषि प्राविधिक अनिश अर्यालका अनुसार रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्म उत्पादन दिन सक्ने अपेक्षा गरिएको छ। जिल्लामै नयाँ र नमुना खेती भएकाले यसले अन्य किसानलाई पनि व्यावसायिक तर्बुजा उत्पादनतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ।

हाल लक्ष्मी र सरस्वती जातका तर्बुजा नमुना परियोजनाका रूपमा रोपिएका छन्। नगरपालिकाले तर्बुजासँगै सिम्ला मिर्च, अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनमा पनि प्राथमिकता दिएको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय