काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका मा एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ।
तारकेश्वर नगरपालिका–१० स्थित छन्त्याल चोकमा डेरा गरी बस्ने लिला परियार को कोठामा बुधबार दिउँसो चोरी भएको हो। लम्जुङ घर भएकी परियारको कोठाबाट नगदसहित सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोडी चोरी भएको प्रहरीले जनाएको छ।
पीडितका अनुसार चोरी भएको नगद र सुनका गरगहनाको बजार मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। परिवारका सदस्यहरू बाहिर गएको मौका छोपेर चोरले कोठामा प्रवेश गरी धनमाल हात पारेको बताइएको छ।
घटना लगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्ति अहिले फरार रहेका कारण उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।



















