काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण गर्न सकिने भए पनि आमाले गुमाएको सन्तान कहिल्यै फिर्ता नआउने बताएका छन्।
आज गोरखामा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेपछि मात्रै सिंहदरबारमा आगजनी भएको दाबी गर्नुभयो।
“२३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन,” लामिछानेले भन्नुभयो, “जो ढल्यो, ऊ फेरि उठ्दैन। आमाको रित्तिएको कोख कहिल्यै भरिँदैन।”
सरकारी संरचना जलेकोमा पार्टीले कुनै गौरव नगरेको स्पष्ट पार्दै उहाँले दोष र जिम्मेवारी सबैका लागि समान हुने धारणा व्यक्त गर्नुभयो।



















