काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गोलीबाट अब कुनै निहत्थाको ज्यान जान नहुने बताएका छन्।
आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभामा सम्बोधन गर्दै थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवैको सोच अतिवादी रहेको बताए।
थापाले भने, “यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जान हुँदैन। नकाब लगाएर सिंहदरबार जलाउन पनि अब कसैले पाउने छैन। यो अवस्था निर्माण गर्नुपर्नेछ। त्यसका लागि भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ।
एउटा प्रवृत्ति छ, जसले भाद्र २३–२४ को घटनालाई इन्कार गर्छ र भन्छ, २३ गते अघि सब ठिकै थियो, सबैले दूधभात खाएका थिए, केही बिग्रेको थिएन। अर्को प्रवृत्ति छ, जसले बोल्दैन, तर त्यो घटनामा आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्छ, केवल आफ्नो फाइदा हेर्छ। यी दुइटै अतिवादी सोचले भविष्यमा फेरि दुर्घटना निम्त्याउँछ। कांग्रेस यी दुइटै सोचसँग सहमत छैन।”



















