काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री वितरण पूरा भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, पहिलो-पछिल्लो निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रमा पुगेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तिम चरणमा रहेको छ।
आयोगले स्वीकृत कार्यतालिकाअनुसार व्यवस्थापकीय कार्यहरू तोकिएको समयमा सञ्चालन गरिरहेको जनाएको छ। मतपत्र छपाइ सकेर वितरण भइसकेको छ भने केही सामग्री जिल्लामा व्यवस्थापन गरी निर्वाचन अधिकृतको जिम्मामा पठाइनेछ।
मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सुरु भई १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुनेछ।
त्यस्तै, फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार सुरु गरेका छन्। आयोगले प्रचारप्रसार प्रचलित कानुन र आचारसंहिताअनुसार शिष्ट र मर्यादित गर्न दल र उम्मेदवारहरूलाई निर्देशन दिइसकेको छ।



















