काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देश सञ्चालनको शैलीप्रति टिप्पणी गर्दै नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै प्रभावकारी रूपमा चल्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले हालको अवस्थालाई उदाहरणसहित व्याख्या गर्नुभयो। उहाँका अनुसार देश अहिले हेटौँडा सिमेन्ट उद्योग जस्तै अवस्थामा पुगेको छ, जहाँ मेसिन, कारखाना र खानी हुँदाहुँदै पनि अपेक्षित उत्पादन हुन सकेको छैन।
“हाम्रो देश हेटौँडा सिमेन्ट जस्तै भएको छ। संरचना छ, स्रोत छ, तर परिणाम छैन,” बालेनले भन्नुभयो, “अब देश वाइवाइ फ्याक्ट्री जस्तै देशभर उत्पादन र रोजगारी फैलाउने गरी सञ्चालन हुनुपर्छ।”
उहाँले रास्वपाले उद्योग, कलकारखाना र उत्पादनलाई प्राथमिकता दिने पार्टीको रूपमा आफूलाई स्थापित गर्न चाहेको स्पष्ट पार्दै देशको आर्थिक विकासका लागि व्यवहारिक र परिणाममुखी नीति आवश्यक रहेको धारणा राख्नुभयो।



















