काठमाडौँ । ओमप्रकाश अर्याल गृहमन्त्रीले आम निर्वाचनलाई लक्षित गर्दै नागरिकलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ।
निर्वाचन तयारीको अवस्थाबारे जानकारी लिन ओखलढुङ्गा पुग्नुभएका मन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, प्रमुख मतदान अधिकृतलगायत सरोकारवालासँगको छलफलमा शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएको जानकारी दिँदै निर्भीक रूपमा मतदान गर्न अनुरोध गर्नुभयो।
उहाँले कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पार्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो। साथै, समाजका सबै वर्गले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।
यसै अवसरमा रामप्रसाद भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि कडाइका साथ कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो।
ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्ति ले जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्थाबारे जानकारी गराउनुभयो भने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइराला ले राजनीतिक दलहरूसँग समन्वय गर्दै जिल्ला निर्वाचन कार्यालयले काम गरिरहेको बताउनुभयो।



















