काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदा मतदाताले अनिवार्य रूपमा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिएर जानुपर्ने जनाएको छ। निर्वाचन आयोगले मतदान प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका लागि मान्य हुनेछ। फागुन २१ गते हुने निर्वाचनमा यी परिचय खुल्ने कागजातमध्ये कुनै एक साथमा भए मतदान गर्न सकिने जनाइएको छ।
सार्वजनिक गरिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका र फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले तोकिएको मतदान केन्द्रमा गई आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।























