सोमबार, बैशाख ०७, २०८३
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई छुट

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका दिन केही निर्दिष्ट सवारीसाधनलाई आयोगबाट जारी हुने सवारी पास आवश्यक नपर्ने व्यवस्था गरेको छ।

सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ का आधारमा सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सर्तमा यस्तो व्यवस्था मिलाइएको हो।

पास नचाहिने सवारीसाधनहरूमा दमकल, एम्बुलेन्स र शववाहन समावेश छन्। त्यस्तै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई पनि छुट दिइएको छ।

दूरसञ्चार, खानेपानी, विद्युत तथा ढल मर्मतका सवारीसाधन, अस्पताल सेवाका सवारी (चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका लागि), हवाई सेवाका यात्रु ओसारपसार गर्ने सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने जनाइएको छ।

यसैगरी हिँडडुल गर्न नसक्ने गर्भवती तथा सुत्केरी महिला, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता र उनीहरूका एक सहयोगी बोकेका सवारीसाधनलाई पनि छुट दिइएको छ। नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारी, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमनका सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई समेत पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

साथै, आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ। उक्त डेस्कबाट जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुने सवारी पाससमेत प्रदान भइरहेको जानकारी आयोगले दिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय