शुक्रबार, बैशाख ०४, २०८३
रामप्रसादराई–३ भुल्केका किसान सुन्तला र एभोकाडो खेतीतर्फ उन्मुख

काठमाडौँ । खोटाङको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

स्थानीय तहबाट आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि किसानले परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि प्रणालीतर्फ ध्यान दिन थालेका हुन् ।

यस क्षेत्रमा किसानहरूले सुन्तला, एभोकाडो, कागती, जुनारलगायत फलफूलको खेती विस्तार गर्दै आएका छन् ।

केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गरिरहेका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि उपयुक्त मानिएको छ ।

स्थानीय कृषक सीता खड्काले वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले खेतीप्रति उत्साह बढेको बताउनुभयो ।

उहाँका अनुसार पहिले सामान्य रूपमा खेती गरिए पनि उत्पादन सीमित हुन्थ्यो । अहिले बिरुवा, मल, तालिम तथा प्राविधिक सल्लाह पाएपछि व्यावसायिक खेती गर्न आत्मविश्वास बढेको छ । व्यावसायिक खेतीबाट आम्दानी वृद्धि भई परिवारको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

वडा कार्यालयका अनुसार कृषिलाई दिगो आयआर्जनको माध्यम बनाउने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।

किसानको माग र व्यावसायिक योजनाका आधारमा विभिन्न जातका फलफूलका बिरुवा, मल तथा बीउबिजन वितरण भइरहेको छ । साथै प्राविधिक जनशक्तिमार्फत बाली व्यवस्थापन, रोग नियन्त्रण तथा आधुनिक खेती प्रविधिबारे तालिम प्रदान गरिँदै आएको छ ।

वडाध्यक्ष रामु थापामगरले स्थानीय भूगोल र माटोअनुसार उपयुक्त खेती प्रणालीलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँका अनुसार किसानलाई व्यावसायिक कृषिमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

फलफूल तथा तरकारीखेती प्रवर्द्धनका लागि ‘एक घर–एक टनेल’ कार्यक्रम कार्यान्वयन गरिएको छ । सिँचाइ सुविधा विस्तार गर्न सिँचाइ पोखरी निर्माणको कामसमेत भइरहेको वडाले जनाएको छ । उत्पादन बढेपछि बजारीकरणमा समस्या नआओस् भन्ने उद्देश्यले सङ्कलन केन्द्र स्थापना र ढुवानी व्यवस्थापनका लागि पनि योजना तयार गरिएको छ ।

स्थानीय सरकारको पहल, प्राविधिक सहयोग र किसानको मेहनतले भुल्के क्षेत्रलाई फलफूल उत्पादनको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक खेती विस्तारसँगै रोजगारी सिर्जना, आयवृद्धि तथा ग्रामीण अर्थतन्त्र सुदृढ हुने विश्वास गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय