शुक्रबार, बैशाख ०४, २०८३
दाउन्ने डाँडामा रहेको दाउन्ने देवी मन्दिरमा बढ्दै भक्तजनको चाप

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा रहेको दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।

समुद्री सतहबाट करिब तीन हजार तीन सय फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजा–आराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा नजिक भएकाले भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् ।

दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिहर सुवेदीका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि नै यस क्षेत्रको धार्मिक महत्व रहेको जनश्रुति पाइन्छ । त्यसैले दाउन्ने देवी मन्दिरलाई ऐतिहासिक मन्दिरका रूपमा पनि चिनिने गरिएको उहाँले बताउनुभयो ।

बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी लगायतका पर्वका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । दाउन्ने देवीलाई शक्तिपीठका रूपमा पूजा गरिने गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यका लागि पनि स्थानीय बासिन्दा मन्दिर आउने गरेका छन् ।

दाउन्ने क्षेत्र वरिपरि लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर तथा गुम्बालगायत धार्मिक स्थल पनि रहेका छन् । मन्दिर व्यवस्थापन समितिले गौशाला सञ्चालन गर्दै आएको पनि अध्यक्ष सुवेदीले बताउनुभयो । विशेषगरी सार्वजनिक बिदा र दसैँको समयमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

प्राकृतिक रूपमा रमणीय स्थान भएकाले धार्मिक यात्रासँगै घुमफिरका लागि पनि मानिसहरू यहाँ आउने गरेका छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा दाउन्ने देवी मन्दिर पनि समावेश गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । तर राज्यबाट मन्दिरको विकासका लागि अपेक्षित ध्यान नपुगेको उहाँको भनाइ छ ।

मन्दिरमा चढाइने भेटीबाट पुजारी व्यवस्थापन, गौशाला सञ्चालन, कर्मचारी तलब तथा मन्दिरको सामान्य व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ । धार्मिक सम्पदाको संरक्षण र व्यवस्थापनमा राज्यले पनि विशेष चासो दिनुपर्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

हालै मन्दिर व्यवस्थापन समितिले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज पहुँच दिलाउन नयाँ बाटो निर्माण गरेको छ । सवारीसाधन मन्दिरसम्मै पुग्ने उद्देश्यले मार्ग खोलिएको भए पनि स्तरोन्नतिका लागि आवश्यक स्रोतको अभाव रहेको छ । यसका लागि राज्यबाट सहयोग आवश्यक रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण दाउन्ने डाँडाबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक आस्था र प्राकृतिक आकर्षणका कारण दाउन्ने देवी क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यसको थप संरक्षण र विकासका लागि सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता रहेको समितिको भनाइ छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय