काठमाडौँ । काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेसँगै शहर विश्वकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् ।
आइतबार बिहान काठमाडौं उपत्यकामा देखिएको बाक्लो तुवाँलोका कारण वायु गुणस्तर निकै बिग्रिएको हो ।
रियल टाइममा वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २०० भन्दा माथि पुगेको छ । २०० भन्दा माथिको सूचकांकलाई ‘निकै अस्वस्थ’ स्तर मानिन्छ ।
दिल्ली र ढाकामा पनि वायु प्रदूषणको मात्रा अत्यधिक रहेको र ‘निकै अस्वस्थ’ तह पार गरेको जनाइएको छ । प्रदूषण बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ तथा २०१ देखि ३०० सम्म निकै अस्वस्थ मानिन्छ । सूचकांक ३०१ भन्दा माथि पुगेमा भने खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
आइतबार बिहान काठमाडौंको मनमैजु क्षेत्रबाट देखिएको तुवाँलोले ढाकिएको घरबस्तीले उपत्यकामा बढ्दो प्रदूषणको अवस्था झल्काएको छ ।



















