काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना अभियान सुरु गरिएको छ।
राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी गणना थालिएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्ज कार्यालयले मंगलबार बिहान एक कार्यक्रम आयोजना गरेर औपचारिक रूपमा बाघ गणना सुरु गरेको हो।
शुक्लाफाँटा, लालझाडी र जोगबुडा क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० वटा ग्रिडमा विभाजन गरेर क्यामेरा जडान गरिएको छ।
यसअघि गरिएको गणनामा शुक्लाफाँटामा ४३ पाटेबाघ फेला परेका थिए। करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा कम क्षेत्रफलमा धेरै बाघ पाइने निकुञ्जका रूपमा चिनिन्छ।



















