काठमाडौँ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सोही अनुपातमा मत बदर भएको जानकारी दिनुभयो ।
आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतका निर्वाचनमा बदर मतको प्रतिशत यसभन्दा बढी थियो । विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो भने २०७४ सालमा ५.१८ प्रतिशत मत बदर भएको थियो ।
यस आधारमा हेर्दा यसपटकको निर्वाचनमा बदर मतको प्रतिशत विगतका निर्वाचनको तुलनामा घटेको आयोगले जनाएको छ ।



















