सोमबार, चैत्र १६, २०८२
शुक्रबारको बर्सातपछि रोशी खोलाको बाढीले डिभिजन सडक कार्यालयका कर्मचारीको मृत्यु, विपी राजमार्ग अवरुद्ध

काभ्रे । शुक्रबार साँझ परेको बर्सातपछि रोशी खोलामा आएको बाढीले डिभिजन सडक कार्यालय भक्तपुरमा कार्यरत कुन्साङ तामाङ (अन्दाजी ४० वर्ष) लाई बगाएर मृत्यु गराएको छ। इलाका प्रहरी कार्यालय मङ्गलटारले घटना पुष्टि गरेको छ।

प्रहरीका अनुसार, राति मोटरसाइकलमा सवार दुई व्यक्ति खोला तर्न लाग्दा बग्ने स्थिति भएपछि मोटरसाइकल छोडेर नजिकैको स्काभेटरमा चढेका थिए। तिनीहरूलाई जोगाउन खोज्दा तामाङ बाढीले बगाएको थियो। बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी पनि बगाएको छ।

उक्त साँझको बर्सातका कारण विपी राजमार्गमा यातायात पनि अवरुद्ध भएको छ। भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढी र पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा उच्च बहाव भएको खोलाले सडक अवरुद्ध गरेको छ। बाढीको सतह घटेपछि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको छ।

धाँजुका अनुसार निरन्तर वर्षा र हावाहुरीका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ। गत वर्षको बाढीले सडक क्षतिग्रस्त भएको क्षेत्रको लागि अस्थायी सडक बनाइ सञ्चालन गरिएको थियो।

हाल विपी राजमार्गको रोशी क्षेत्रका प्रवेशमार्ग धुलिखेल–काभ्रेभञ्ज्याङ, भकुण्डे र पूर्वतर्फ नेपालथोक तथा मङ्गलटारमा सवारीसाधन ‘होल्ड’ गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय