सोमबार, चैत्र १६, २०८२
‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

काठमाडौं । आगामी वैशाख ११ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म परालको आगो को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचारप्रसारलाई तीव्र बनाउँदै उक्त गीत रिलिज गरेको हो।

गीतमा प्रकाश सपुत र शान्तिश्री परियार को स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि प्रकाश सपुतकै हुन् भने एरेञ्ज सुदीप सागर ले गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुत फिचर्ड छन्। पहिलो पटक स्क्रिन सेयर गरेका यी दुईको जोडीलाई दर्शकले मन पराएका छन्। गीतमा ग्रामीण परिवेशमा आधारित प्रेम कथा प्रस्तुत गरिएको छ, जसले गाउँघरको जीवनशैली, घाँस–दाउरा र गोठालो संस्कृतिलाई जीवन्त रूपमा देखाएको छ।

यसअघि फिल्मको टिजर तथा पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेको थियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। नयाँ गीत ‘दुःख सुख जिन्दगानी’ ले पनि लोकलयमा आधारित प्रस्तुतीमार्फत दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

परालको आगो का निर्देशक लक्ष्मण सुनार हुन् भने कोरियोग्राफी रामजी लामिछाने ले गरेका छन्।

गुरुप्रसाद मैनाली को प्रसिद्ध कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्। पटकथा तथा संवाद सुशील देवकोटा ले तयार पारेका छन्।

यसअघि करिब ४५ वर्षअघि पनि यही कथामा आधारित फिल्म निर्माण भएको थियो, जसलाई प्रताप सुब्बा ले निर्देशन गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय