सोमबार, चैत्र १६, २०८२
ओली–लेखक पक्राउप्रति विद्यादेवी भण्डारीको आपत्ति, निर्णय फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारीले बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गरिएकोप्रति गम्भीर आपत्ति जनाएकी छन्।

शनिबार जारी प्रेस विज्ञप्तिमा उनले सरकारको उक्त कदमलाई प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको टिप्पणी गर्दै तत्काल निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन्।

उनले सुशासनको नारा दिएर बनेको सरकारले सुरुवातमै संवैधानिक मर्यादा र स्थापित लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएकी छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा गरिएको गिरफ्तारीप्रति पनि उनले असहमति जनाएकी छन्।

भण्डारीका अनुसार उक्त प्रतिवेदन पूर्ण नभएको र विभिन्न अध्ययनहरूले त्रुटि औंल्याएको अवस्थामा हतारमा गरिएको निर्णयले विधिको शासनमाथि प्रहार गरेको छ।

उनले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित सिफारिसलाई आधार बनाएर गरिएको यस्तो कदमले मुलुकमा अस्थिरता निम्त्याउने जोखिम बढाएको बताएकी छन्। साथै, कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा पर्याप्त अध्ययन, संस्थागत परामर्श र विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिँदै सरकारलाई संयमित र जिम्मेवार भएर अघि बढ्न सचेत गराएकी छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय