सोमबार, बैशाख ०७, २०८३
गृहमन्त्री गुरुङको स्पष्टीकरण: ‘केही लुकाएको छैन, ऋण लिएर सेयर किनेको हुँ’

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको सेयर विवादबारे स्पष्टिकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू मन्त्री बन्नुअघि सेयर खरिद गर्नु कुनै अपराध नभएको बताउँदै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको दाबी गरेका छन्।
उनका अनुसार लगानीका लागि प्रयोग गरिएको रकम ऋणमार्फत जुटाइएको हो, जसको लिखित तमसुक २०८०/०५/२९ मा तयार गरिएको रेकर्डमै रहेको छ।
उनले भनेका छन्, “लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन। मन्त्री हुनुअघि सेयर किन्नु कसरी अपराध भयो? सबै कारोबार बैंकिङ च्यानलबाट भएको छ।”
स्पष्टीकरणका मुख्य बुँदाहरू:

सम्पत्ति विवरणबारे:
“२५ लाखको सेयर लुकाइएको” भन्ने आरोप असत्य भएको उनले बताएका छन्। धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको सेयर आफूले सम्पत्ति विवरणमै उल्लेख गरेको र स्टार माइक्रो इन्स्योरेन्स तथा लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र पर्ने उनको भनाइ छ। यो लुकाउने नभई वर्गीकरणको विषय मात्र भएको उनले स्पष्ट पारे।

कारोबारको पारदर्शिता:
सबै रकम बैंकिङ प्रणालीमार्फत गएकाले यसको पूर्ण हिसाब–किताब रहेको र यस्तो रकम लुकाउन सम्भव नहुने उनको दाबी छ।

लगानीको स्रोत:
ऋणमार्फत प्राप्त रकम बैंकमार्फत आएको र सोही रकम लगानीमा प्रयोग गरिएको उनले बताएका छन्। स्रोतबारे अनुमान होइन, कागजी प्रमाण र बैंक रेकर्डले पुष्टि गर्ने विषय भएको उनको भनाइ छ।

साझेदारीको आरोपबारे:
एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नुजस्तो नभएको उनले बताएका छन्। त्यही कम्पनीमा अन्य संस्था र बैंकहरूको समेत लगानी रहेको उल्लेख गर्दै चयन गरेर आरोप लगाउनु अनुचित भएको उनले जनाएका छन्।

Conflict of interest आरोप:
यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग रहेको र प्रक्रिया अनुसार अनुसन्धान भइरहेको उनले बताएका छन्। आफूले हस्तक्षेप गरेको भए छानबिन अघि नबढ्ने उनको तर्क छ।

लगानी जोखिमबारे:
व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने र पछि भएका घटनालाई आधार बनाएर अघिल्लो निर्णयलाई दोष दिनु तथ्यमा आधारित नभएको उनले उल्लेख गरेका छन्।

ढिलो प्रतिक्रिया दिनुको कारण:
कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने उनको भनाइ छ।

राजनीतिक आरोपबारे:
व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोका रूपमा व्याख्या गर्नु गलत भएको उनले बताएका छन्।

अन्त्यमा उनले भनेका छन्, “आरोप र सत्य फरक कुरा हुन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। पार्टीले गर्ने निर्णय म पूर्ण रूपमा मान्नेछु र अनुसन्धानमा सहयोग गर्न तयार छु।”

सिफारिस

ताजा समाचार

लोकप्रिय