मंगलबार, बैशाख १५, २०८३
हिउँदेबाली भित्र्याउन रुकुम पूर्वका किसानलाई चटारो

रुकुम पूर्व । रुकुम पूर्वमा यस वर्ष हिउँदे बालीको उत्पादन उल्लेखनीय रूपमा राम्रो भएको छ। असोज र कार्तिक महिनामा छरिएको बाली अहिले भित्र्याउने चरणमा पुगेको छ, जसले गर्दा किसानहरू उत्साहित भएका छन्।

विगतका वर्षहरूमा खडेरीका कारण हिउँदे खेती प्रभावित हुँदै आएको थियो। विशेषगरी आकाशे पानीमा निर्भर कृषकहरू वर्षात् नहुँदा चिन्तित हुने गरेका थिए। तर यस वर्ष समय–समयमा वर्षा भएपछि उत्पादनमा उल्लेखनीय सुधार आएको हो।

जिल्लाका अधिकांश किसान बर्खे खेतीमा निर्भर भए पनि तल्लो भेगमा हिउँदे खेती गरिन्छ। चिसो हावापानीका कारण यहाँ बाली पाक्न करिब ६ देखि ७ महिना लाग्ने गर्छ।

यसपटक जौ, गहुँ, तोरी र मुसुरो जस्ता बाली राम्रोसँग फलेका छन्। मकै भित्र्याइसकेपछि किसानहरू अहिले हिउँदे बाली थन्क्याउन व्यस्त छन्।

अघिल्ला वर्षहरूमा पर्याप्त उत्पादन नहुँदा धेरै खेतबारी बाँझै रहने गरेका थिए। तर यस वर्ष भने मौसम अनुकूल हुँदा ती खेतहरू पनि हराभरा देखिएका छन्।

पुथा उत्तरगङ्गाकी कृषक जुनकुमारी बुढामगरका अनुसार समयमै पानी परेकाले यस वर्षको उत्पादन अघिल्ला वर्षभन्दा धेरै राम्रो भएको छ।

यद्यपि, मौसमी सिँचाइ मात्र हुने क्षेत्रमा भने अझै हिउँदमा खेती गर्न कठिन हुने र धेरै जमिन बाँझै रहने समस्या यथावत् रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय