काठमाडौँ । डॉ. विक्रम तिमिल्सिनाले सुरक्षित, भरपर्दो र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सूचना प्रविधि अहिले सुशासन, सेवा प्रवाह र आर्थिक विकासका लागि अपरिहार्य बनिसकेको उल्लेख गरे।
उनका अनुसार सरकारले डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवाहरूलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउँदै लगिरहेको छ। नागरिक एपलाई सुदृढ बनाउँदै एउटै डिजिटल प्लेटफर्मबाट अत्यावश्यक सेवा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।
त्यसैगरी, नेपाललाई एआई, डेटा अर्थतन्त्र र सूचना प्रविधि सेवाको क्षेत्रीय केन्द्र बनाउने उद्देश्यसहित नीति तथा कानुनी संरचनामा सुधार भइरहेको उनले जानकारी दिए।



















