काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने आश्वासन दिँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ का ३१ वर्षीय शक्ति राई, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ की ३९ वर्षीया विमला दोङ र सिन्धुपाल्चोककै ३१ वर्षीय रोशन तामाङ रहेका छन्। उनीहरू काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार शक्तिले न्युजिल्यान्ड पठाइदिने भन्दै रु १ लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै रु १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै रु २४ लाख रुपैयाँ लिएर पीडितसँग सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



















