काठमाडौँ । नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको दुरुपयोग गर्दै बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी भइरहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
ब्यूरोले जारी गरेको सूचनाअनुसार ‘कनेक्ट आइपिएस’ जस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट झुटा सन्देश तथा एलर्ट पठाउने घटना बढिरहेको पाइएको छ। यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण लिने र बैंक खातामा अनधिकृत पहुँच पुर्याउने प्रयास भइरहेको जनाइएको छ।
ब्यूरोका अनुसार यसरी प्राप्त जानकारी प्रयोग गरी ठूलो मात्रामा रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएकाले अपरिचित लिंक क्लिक नगर्न, व्यक्तिगत तथा बैंकिङ विवरण सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी दिन अनुरोध गरिएको छ।



















