बिहिबार, बैशाख २४, २०८३
नाडा प्रतिनिधिमण्डल र उद्योग मन्त्रीबीच भेट, एमआरपी स्टिकरबारे छलफल

काठमाडाैं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेट तथा छलफल गरेको छ ।

वैशाख २२ गते भएको भेटमा अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्यसूची (एमआरपी) सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे विस्तृत छलफल भएको हो ।

अध्यक्ष उप्रेतीले यस्तो व्यवस्थाले उत्पादन तथा आयात व्यवसायलाई व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउन मद्दत गर्ने र सरकारी राजस्वमा समेत वृद्धि हुने बताए । साथै, यसले आधिकारिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूलाई प्रोत्साहन गर्ने भन्दै नाडा सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

छलफलका क्रममा उनले नेपालमै सवारी साधन तथा टायर, लुब्रिकेन्ट्स र ब्याट्री उत्पादन भइरहेको जानकारी पनि दिए ।

मन्त्री यादवले नाडाले दिएका सुझावलाई सकारात्मक रूपमा लिइएको बताउँदै हालको अवस्थामा केही व्यावहारिक चुनौती देखिएकाले तत्कालका लागि कार्यान्वयन प्रक्रिया पछि सारेर समाधान खोजिने आश्वासन दिइन् ।

स्टिकर टाँस्ने व्यवस्था विशेषगरी स्पेयर पार्ट्स र भन्सार यार्डमै मूल्य टाँस्ने प्रावधानका सन्दर्भमा व्यावहारिक कठिनाइ रहेको नाडाको भनाइप्रति पनि मन्त्रीले चासो देखाएको जनाइएको छ ।

छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यहरू दिवाकर मिश्र, नवीन पारख र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय