काठमाडाैं । इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमाथि अझै विचार गरिरहेको जनाएको छ । दुई पक्ष सम्झौतासम्म नजिक पुगेको चर्चा भइरहेका बेला इरानले प्रस्ताव अध्ययनकै चरणमा रहेको स्पष्ट पारेको हो ।
अमेरिकी सञ्चारमाध्यम एक्सिओसले ह्वाइट हाउस इरानसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारीमा रहेको दाबी गरेपछि यो विषय थप चर्चामा आएको छ । तर इरानी संसद्का एक वरिष्ठ सदस्यले यसलाई अमेरिकाको ‘इच्छासूची’ मात्र भन्दै अस्वीकार गरेका छन् ।
इरानको विदेश मन्त्रालयले भने आफ्नो धारणा मध्यस्थकर्ता पाकिस्तानमार्फत प्रस्तुत गरिने जनाएको छ । पाकिस्तानका विदेशमन्त्रीले आफ्नो देश युद्धविरामलाई दीर्घकालीन शान्तिमा रूपान्तरण गर्न प्रयासरत रहेको बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो २४ घण्टामा इरानसँग सकारात्मक वार्ता भएको र सम्झौताको सम्भावना बलियो रहेको दाबी गरेका छन् ।



















