काठमाडौँ । झापा को सीमावर्ती क्षेत्रमा भारतबाट आउने हात्तीको बथानले जनधनमा क्षति पुर्याउन थालेपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च का पूर्वअध्यक्ष निरज घिमिरेले हरेक वर्ष बाली पाक्ने समयमा भारतबाट सयौँको सङ्ख्यामा हात्ती नेपाल प्रवेश गर्ने गरेको बताउनुभयो ।
स्थानीयका अनुसार यसपाली हात्तीले मकैबाली नष्ट गर्नुका साथै सुपारीका बोटसमेत ढालेका छन् । सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारका ब्याट्री चोरी भएपछि हात्ती नियन्त्रणमा थप समस्या भएको जनाइएको छ ।
स्थानीयवासीले भारत सरकारका सम्बन्धित निकायसँग समन्वय गरी हात्ती प्रवेश रोक्न उच्चस्तरीय वार्ता गर्न सरकारसँग माग गरेका छन् ।



















