सोमबार, बैशाख २८, २०८३
ऊर्जा संकटपछि श्रीलङ्कामा बिजुली महसुल १८ प्रतिशतसम्म वृद्धि

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा असर परेपछि लागत बढेको भन्दै श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ ।

सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागू हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ । कम खपत गर्ने उपभोक्तामा भने तत्काल असर नपर्ने जनाइएको छ ।

आयोगले उद्योग, होटल, व्यवसाय, सरकारी कार्यालय तथा धार्मिक संस्थामा समेत नयाँ दर लागू हुने जनाएको छ ।

यसअघि गत महिना मात्रै श्रीलङ्काले बिजुली महसुल ४० प्रतिशतले बढाएको थियो । ऊर्जा क्षेत्रसँग सम्बन्धित लगातार मूल्यवृद्धिको श्रृंखलामा यो अर्को कदम भएको बताइएको छ ।

ऊर्जा आपूर्तिमा आएको अवरोधका कारण श्रीलङ्काले इन्धनको मूल्य पनि ३५ प्रतिशतभन्दा बढीले बढाएको छ भने केही क्षेत्रमा राशनिङ व्यवस्था लागू गरिएको छ । सरकारी तथ्याङ्कअनुसार अप्रिल महिनामा महँगी दर ५.४ प्रतिशत पुगेको छ ।

सन् २०२२ मा विदेशी मुद्रा संकटका कारण गम्भीर आर्थिक समस्यामा परेको श्रीलङ्काले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोगमार्फत आर्थिक स्थायित्व ल्याउने प्रयास गरिरहेको छ । तर ऊर्जा मूल्यवृद्धि र बाह्य संकटले पुनःउत्थान प्रक्रियामा थप चुनौती सिर्जना गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय