आइतबार, जेठ ०३, २०८३
भारतले चाँदी आयातमा पनि कडाइ गर्‍यो

काठमाडौँ । पश्चिम एसियामा जारी तनावका बीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति लागू गरेको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित सूचीमा राखिएको छ। अन्य प्रकारका सिल्भर बारसमेत प्रतिबन्धित आयात सूचीमा समावेश गरिएको जनाइएको छ।

संशोधित आयात नीतिअनुसार चाँदीको आयात नियन्त्रण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। मन्त्रालयले नयाँ नियम तत्काल लागू भएको जनाएको छ।

यसअघि भारत सरकारले बहुमूल्य धातुमा लाग्ने आयात शुल्क उल्लेखनीय रूपमा बढाउनुका साथै एडभान्स अथोराइजेसन स्किमअन्तर्गत सुन आयातमा १०० किलोग्रामको सीमा तोकेको थियो। यसअघि उक्त स्किममा सुन आयातको कुनै सीमा थिएन।

पश्चिम एसियाली संकटका कारण बढ्दो आयात खर्च नियन्त्रण गर्न सरकारले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ। त्यस्तै, प्लाटिनममा लाग्ने आयात शुल्क पनि ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ।

यी निर्णय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा बचत गर्न नागरिकलाई एक वर्षसम्म सुन खरिद नगर्न तथा अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको केही दिनपछि सार्वजनिक भएका हुन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय