काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन ले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो मा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
हालसम्म रोगका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको आशंका गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले इबोलाको संक्रमण तीव्र रूपमा फैलिँदै गएको बताएका छन् । स्वास्थ्य मन्त्रीका अनुसार हालसम्म यस रोगका लागि प्रभावकारी खोप उपलब्ध छैन । इबोलाको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।
प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो । उक्त क्षेत्र युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको संवेदनशील क्षेत्र मानिन्छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी रहेको जानकारी सार्वजनिक गरिएको छ ।
उपचार केन्द्र र आइसोलेसन सुविधा पर्याप्त नभएकाले धेरै बिरामी घरमै मृत्यु भइरहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा चिकित्सक र राहत सामग्री पठाउने तयारी गरिरहेका छन् ।



















