काठमाडौँ । हिमाल, जंगल, योग र आध्यात्मिक सम्पदाले भरिएको नेपाललाई विश्वको प्रमुख आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘आरोग्य संवाद : आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’ कार्यक्रम सम्पन्न भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, योग–ध्यान तथा आरोग्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउन बहुपक्षीय सहकार्य र साझा रणनीतिक समझदारी आवश्यक रहेकोमा जोड दिइयो।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले नेपालका पहाड, वन, योग, ध्यान, आयुर्वेद र जैविक विविधतालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार बनाउन सकिने बताए। उनले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यमा सीमित नराखी मानसिक, सामाजिक र वातावरणीय पक्षसमेत समेट्ने समग्र अवधारणाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले विश्व पर्यटन प्रवृत्ति ‘वेलनेस टुरिजम’तर्फ केन्द्रित हुँदै गएको उल्लेख गर्दै नेपालमा दीर्घ बसाइ र उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए। उनले गण्डकी र लुम्बिनी प्रदेशलाई नमुना आरोग्य क्षेत्रका रूपमा विकास गर्न सकिने धारणा राखे।
त्यसैगरी संस्थापक रमेश नेपालले आरोग्यलाई जीवनशैलीसँग जोडेर अघि बढाउनुपर्ने बताउँदै कार्यक्रममा सहभागीहरूलाई ध्यान अभ्यासमा समेत सहभागी गराए।
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच भएको छलफलमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालियो। आरोग्य पर्यटन रणनीति (२०२६–२०३५) र कार्ययोजना (२०२६–२०३०) को प्रभावकारी कार्यान्वयन, पूर्वाधार विकास र मानव संसाधन सुदृढीकरणमा विशेष जोड दिइएको थियो।
कार्यक्रमले नेपाललाई योग, ध्यान, आयुर्वेद र प्राकृतिक उपचारमार्फत विश्वस्तरको आरोग्य गन्तव्य बनाउने अभियान सरकार, निजी क्षेत्र र समुदायको साझा प्रयासमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।



















