काठमाडौँ । दुबईको जुमेराह नजिक अरब सागरमाथि कृत्रिम टापुमा अवस्थित बुर्ज अल अरब विश्वकै विलासितामय होटलमध्ये एक मानिन्छ, जसलाई कतिपयले “टेन स्टार होटल” भनेर पनि दाबी गर्छन्।
सन् १९९९ मा निर्माण सम्पन्न भएको यो होटल दुबईको आधुनिक वास्तुकला र भव्यताको प्रतीक बनेको हो। करिब १ अर्ब अमेरिकी डलर लागतमा बनेको बुर्ज अल अरब जुमेराह तटबाट करिब २८० मिटर टाढा कृत्रिम टापुमा अवस्थित छ र घुमाउरो पुलमार्फत मुख्य सहरसँग जोडिएको छ।
रिपोर्टअनुसार, होटलको करिब ३९ प्रतिशत भाग बस्न योग्य छैन, जसले यसको संरचनालाई अझ अनौठो र रहस्यमयी बनाउँछ। दुबईको स्काइलाइनमा उभिएको यो भवन विश्वकै अग्ला होटलमध्ये पनि पर्छ।
होटलमा रात बिताउन न्यूनतम करिब २ लाख रुपैयाँसम्म खर्च लाग्ने बताइन्छ। यहाँ आगन्तुकहरूलाई हेलिकप्टरमार्फत छतमा अवतरण गराउने वा रोल्स रोयस कारमार्फत भव्य स्वागत गर्ने व्यवस्था छ।
६८९ फिट उचाइमा रहेको हेलिप्याड र भुइँदेखि छतसम्म फैलिएका ठूला झ्यालहरू यस होटलका विशेष आकर्षण हुन्, जसबाट अरब सागरको दृश्य अवलोकन गर्न सकिन्छ। बुर्ज अल अरब केवल एक होटल मात्र नभई दुबईको समृद्धि र महत्वाकांक्षाको प्रतीक मानिन्छ।



















