काठमाडौँ । बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छन्।
लेबर पार्टीकी नेतृसमेत रहेकी मल्होत्रा आज काठमाडौं आइपुगेकी हुन्। उनको नेपाल भ्रमणबारे काठमाडौंस्थित बेलायती दूतावासले पुष्टि गरेको छ।
दूतावासले उनको स्वागत गर्दै यो भ्रमण बेलायत–नेपाल सम्बन्धका लागि महत्वपूर्ण हुने जनाएको छ। साथै दुई देशबीचको मित्रता र साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
हालसम्म राज्यमन्त्री मल्होत्राको भ्रमण तालिका र भेटघाटबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
सन् २०११ देखि पश्चिम लन्डनको फेल्थम एन्ड हेस्टन क्षेत्रबाट सांसद रहेकी मल्होत्राले बेलायती संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक क्षेत्रसँग सम्बन्धित विषयमा सक्रिय भूमिका निभाउँदै आएकी छन्।



















