मंगलबार, जेठ १९, २०८३
काभ्रेपलाञ्चोकमा फरार ६ प्रतिवादी पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना चोरी, १ जना अभद्र व्यवहार, १ जना लागुऔषध तथा १ जना वैदेशिक कसुर मुद्दाका सजाय प्राप्त व्यक्ति रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार अभद्र व्यवहार मुद्दामा २६ दिन सजाय तोकिएका बनेपा–८ का २२ वर्षीय सुरज काफ्ले, चोरी मुद्दामा ५ महिना ५ दिन सजाय पाएका बनेपा–११ का ३३ वर्षीय रुपक अधिकारी, बैंकिङ कसुरमा २ वर्ष कैद तोकिएका चौतारा साँगाचोकगढी–९ घर भई हाल काठमाडौं–३२ बस्ने २७ वर्षीय रमेश श्रेष्ठ, लागुऔषध मुद्दामा २ महिना ४ दिन सजाय तोकिएका नमोबुद्ध–६ का २६ वर्षीय अनिल तामाङ (ईन्द्रलाल तामाङ), चोरी मुद्दामा ५ महिना ३ दिन सजाय पाएका बनेपा–८ का ३७ वर्षीय विवस मानन्धर तथा ललितपुर महानगरपालिका–२० घर भई हाल बनेपा–८ बस्ने ३६ वर्षीय साजन शाक्य रहेका छन् ।

उनीहरूलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि कुल ३ वर्ष ६ महिना ७ दिन कैद र ८ लाख १२ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय