काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान र गौरव भएको बताएका छन् ।
शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताएका हुन् ।
‘यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्वपूर्ण योगदान दिएको हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सार्मथ्य राख्दछ भन्ने मलाई लाग्दछ ।’
राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्याएको योगदानको स्मरण गरे । उनले भने, ‘नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतकारूपमा बुझ्न आवश्यक छ ।’
राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने युगकवि श्रेष्ठका कवितामध्ये उनको रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गरे ।




















