काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।
सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ।
यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि सात सदस्य र एक सदस्य सचिव, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक तथा स्वास्थ्य बिमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा आवेदन मागिएको छ। नेपाल नर्सिङ परिषद्मा भने उपाध्यक्ष पदका लागि पनि आवेदन दिन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

























