धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा एउटा पैसा राख्ने लकर फेला परेको छ ।
भाद्र १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट परिचालित टोलीले लकर फेला पारेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले आदमघाटबाट करिब ६ किलोमिटर पूर्वतर्फ खोज तथा उद्धारका क्रममा लकर फेला पारेको जनाएको छ ।
फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा नेपाल प्रहरीलाई बुझाइएको छ । लकर बाढी वा पहिरोका कारण अन्यत्रबाट बगेर आएको हुन सक्ने अनुमान गरिएको छ ।
लकरभित्र के–कति रकम वा अन्य सामग्री छन् भन्ने खुलेको छैन । यसको वास्तविक स्रोत तथा भित्र रहेको सामग्रीबारे नेपाल प्रहरीले अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।











