काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म निरन्तर दिने भएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन सञ्चारलाई सहज बनाउन कम्पनीले निःशुल्क दूरसञ्चार सेवा थप समयका लागि निरन्तरता दिएको हो । यसअघि भदौ १४ गतेसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका नागरिकले आवश्यकता अनुसार उक्त सुविधा प्रयोग गर्न सक्नेछन् । बाढीका कारण कम्पनीका केही भौतिक संरचनामा क्षति पुगे पनि सेवा नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।











